राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : ४,१५७ विद्यालय छनोट

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८ फागुन ०३ मंगलबार
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : ४,१५७ विद्यालय छनोट

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले चार हजार १५७ विद्यालय छनोट गरेको हो ।

काठमाडौं : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट भएका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले चार हजार १५७ विद्यालय छनोट गरेको हो ।

जसमध्ये चारकोठे भवन ९७६ वटा निर्माण गरिनेछ । यस्तै, दुईकोठे भवन ९६६, आईसीटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र २१ नयाँ प्राविधिक विद्यालय स्थापना गरिने भएको छ ।

मन्त्री पौडेलका अनुसार चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख रुपैयाँ, दुईकोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार रुपैयाँ छुट्ट्याइएको छ ।

गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट विद्यालयका निम्ति अनुदान १४ विद्यालयलाई ३३ करोड ६० लाख र प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरोन्नतिका लागि अनुदान ८८ विद्यालयलाई ८८ करोड रकम छुट्ट्याइएको छ ।

ष्ट्रपति शैक्षिक सुधारका लागि सात अर्ब ८५ करोड ५१ लाख रुपैयाँ छुट्ट्याएको छ । विद्यालय छनोट गरी बाँकी एक अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्ट्याइने मन्त्री पौडेलले बताए ।

“देशभरका विद्यालयको भौतिक संरचना, आईसीटी व्यवस्थापन गर्ने अभियानमा छौँ,” मन्त्री पौडेलले भने, “निवेदन दिन बाँकी रहेका पालिकाहरूलाई सम्बोधन गर्छौँ ।”

देशका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले प्रस्ताव पठाएका थिए । जसमध्ये सात हजार ९८६ विद्यालयले भवन निर्माण, चार हजार २३५ विद्यालयले आईसीटी ल्याब, ११७ विद्यालयले नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १८८ र घेराबार खेलमैदानमा ९४७ विद्यालयले आवेदन दिएका थिए ।