नेपालको उत्पत्तिदेखि एकीकरणको इतिहास, कला, संस्कृति, सम्पदा र सभ्यताको धनी कीर्तिपुरमा पछिल्ला दिनमा विकास निर्माणका कार्य तीव्रताका साथ भइरहेका छन् ।
काठमाडौं: सुन्दर नगरी कीर्तिपुर, जहाँ मुलुककै मुख्य प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालय छ । प्राचीन यो नगरीमा प्रवेश गर्दा जोसुकैलाई यही प्राज्ञिक थलोले आकर्षित गर्छ । यससँगै नेपालको उत्पत्तिदेखि एकीकरणको इतिहास, कला, संस्कृति, सम्पदा र सभ्यताको धनी कीर्तिपुरमा पछिल्ला दिनमा विकास निर्माणका कार्य तीव्रताका साथ भइरहेका छन् ।
यसै ठाउँमा मञ्जुश्रीले चोभारको डाँडो काटेर उपत्यकामा बस्ती विकास गरेको कथन सबैको मानसपटलमा ताजै छ । एकीकरणको गाथा बोकेको यो सहर संस्कृति र सभ्यतामा पनि निकै धनी छ । यहाँको सभ्यतालाई अझै धनी र समृद्ध बनाउन यहाँका नेवार समुदाय कम्मर कसेर लागेका छन् र साथ दिएका छन् अन्य समुदायले पनि ।
ऐतिहासिक पहिचान जोगाउन लागि परेका स्थानीय र जनप्रतिनिधिबाट यस नगरले विकासमा फड्को मार्ने प्रयास गरिरहेको छ ।स्थानीयवासीसमेत जनप्रतिनिधिको कामप्रति निराश देखिँदैनन् । उनीहरू कीर्तिपुरको विकास सन्तोषजनक रहेको प्रतिक्रिया दिन्छन् । आशावादी स्थानीय र उत्साहित जनप्रतिनिधि सामूहिक रूपमा कीर्तिपुरको पहिचान जोगाउन लागिरहेको बताउँछन् ।
कीर्तिपुरको फोहोर व्यवस्थापन उपत्यकाका अन्य नगरपालिकाको तुलनामा चुस्त छ । नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा चार निजी कम्पनीलाई दिएको छ । फोहोर व्यवस्थापनमा स्थानीयसमेत उत्तिकै सजग छन् । वडा नम्बर १ का स्थानीय सीताराम महर्जन भन्छन्, ‘हामी आफंै फोहोर व्यवस्थापन गर्छाैं । नगरपालिकाले पनि फोहोर घटाउन र व्यवस्थापनमा कुनै कमी हुन दिएको छैन । अन्यत्र जस्तो यहाँ समस्या छैन ।’
उत्पन्न फोहोरसमेत प्रशोधन गरेर कुहिने फोहोरलाई मल बनाउन प्रयोग गर्ने गरिएको छ । त्यस्तै, नकुहिने र प्रयोगमा नआउने फोहोर मात्र डम्पिङ साइटमा पठाइन्छ । ‘यहाँ अन्य स्थानमा जस्तो फोहोर थुप्रने र दुर्गन्ध फैलने भन्ने हुँदैन,’ उपप्रमुख सरस्वती खड्काले भनिन् । नगरपालिकाले आफ्नै प्रशोधन केन्द्रसमेत सञ्चालनमा ल्याएको छ ।
खानेपानीको समस्या
यस नगरको मुख्य समस्या भनेको खानेपानी हो । नगरपालिकाले खानेपानी व्यवस्थापनमा आफ्नो तर्फबाट भरपूर प्रयासअघि बढाएको बताउँदै आए पनि खानेपानीको समस्या भने समाधान गर्न सकेको छैन । स्थानीय लक्ष्मी मर्हजन भन्छन्, ‘नगरपालिकाले काम गरिरहेको छ । सबैतिरको समस्या हो, पक्कै आउला ।’
नगरपालिकाले केही वडामा रहेको जलस्रोतको उपयोगलाई पहिलो प्राथमिकतामा राखेको बताएको छ । स्रोत संरक्षणको योजना योजना बनाएर यहाँ काम भइरहेको छ । यससँगै विभिन्न स्थानमा बोरिङ तथा इनार खनेर पानीको व्यवस्था मिलाइएको र मेलम्चीको पानीसमेत विकल्पका रूपमा राखिएको नगरपालिकाकी उपप्रमुख खड्काले बताइन् ।
आशावादी स्थानीय, उत्साहित जनप्रतिनिधि
यस क्षेत्रका स्थानीयमा अन्य स्थानीय तहमा जस्तो जनप्रतिनिधिसँग ठूलो गुनासा छैनन् । कीर्तिपुरमा अधिकांश नेवार र केही मात्रामा तामाङ समुदायको बसोबास छ । ‘हामी शतप्रतिशत सफल भयौं भन्न त सक्दैनौँ । तर, अधिकतम प्रयास गरेका छौं । अबको बाँकी समयमा हामी कीर्तिपुरको विकास देखिने गरी काम गर्नेछौं,’ स्थानीयको साथले उत्साहित उपप्रमुख खड्काले भनिन् ।
इतिहास र सम्पदा संरक्षणका प्रयास
कीर्तिपुरका मूर्त–अमूर्त सम्पदा, इतिहास र संस्कृति संरक्षणमा स्थानीयवासी र स्थानीय सरकारले कुनै कसर बाँकी राखेको देखिँदैन । नगरपालिकाले यी सम्पदाको महŒव बचाई राख्न मञ्जुश्रीले डाँडा काटेर बस्ती बसाएको चोभारमा पार्क, टौदह व्यवस्थापन, एकीकरणको इतिहासलाई बचाइराख्न युद्ध स्मारक पार्क बनाउने, बाघभैरव, चम्पादेवी, जलविनायक, उमामहेश्वर मन्दिर, चिलाचो विहारलगायतको संरक्षण र प्रवद्र्धनका लागि गुरुयोजना निर्माण गरी लागिपरेको बताएको छ । मूर्त–अमूर्त सम्पदा संरक्षणमा स्थानीयको सहभागितासमेत उत्तिकै भएको स्थानीय बताउँछन् । यस क्षेत्रका पुराताŒिवक पोखरी संरक्षणलगायतका काममा स्थानीय र जनप्रतिनिधिको उत्तिकै सहभागिता रहने गरेको स्थानीयको भनाइ छ । पुराताŒिवक मौलिक घर निर्माण गर्नेलाई नक्सापास र कर छुट गर्ने योजनासमेत नगरपालिकाको छ ।
विकास निर्माणमा तीव्रता
यस क्षेत्रमा भएका विकास निर्माणका काममा ढिलासुस्ती नभएको र गत आर्थिक वर्षमा तोकिएको लक्ष्य पूरा भएको नगरपालिकाको दाबी छ । यता स्थानीयसमेत यस विषयमा गुनासो नरहेको बताउँछन् । ‘वडा नम्बर ३ मा पर्ने नयाँबजारमा सडकपेटी बनाउने काम सुरु भएको केही दिन भयो । केही दिनमा नै काम सकिन लागेको छ, के ढिला भयो भन्नु,’ नयाँबजारका स्थानीय राजु महर्जनले भने । अन्य नगरपलिकामा जस्तो समस्या नरहेको उनको भनाइ छ । उपप्रमुख खड्कासमेत तोकिएको समयमै काम सम्पन्न हुने गरेको अनुभव सुनाउँछिन् ।
नगरपालिकाले बजेटमा पूर्वाधार विकासका साथै सामाजिक विकासलाई समेत उत्तिकै प्राथमिकतामा राखेको छ । जन्मदेखि मृत्युसम्म स्थानीयसँगै रहेको आभास दिन नगरपालिकाको सामाजिक विकास कार्यक्रम लक्षित कार्यक्रमले सहकार्यलाई झनै सहज बनाएको जनप्रतिनिधि र स्थानीय बताउँछन् । नगरपालिकाले केबलकारको सम्भाव्यता अध्ययनका साथै चक्रपथ निर्माणको कामसमेत अघि बढाएको छ ।