मच्छिन्द्र ‘ए’ डिभिजन लिग च्याम्पियन

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८ फागुन ०४ बुधबार
मच्छिन्द्र ‘ए’ डिभिजन लिग च्याम्पियन

बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोलले हराउँदै मच्छिन्द्रले दुई खेल अगाडि नै उपाधि जितेको हो ।

काठमाडौं : मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोलले हराउँदै मच्छिन्द्रले दुई खेल अगाडि नै उपाधि जितेको हो ।
मच्छिन्द्रले १२औं चरणमा थ्रीस्टार र अन्तिम खेलमा विभागीय टोली एपीएफसँग खेल्न बाँकी छ । यी दुवै खेलमा पराजित भए पनि दोस्रो स्थानको मनाङ मस्र्याङ्दीसँग हेड टु हेडमा अघि रहने छ । उपाधिसँगै मच्छिन्द्रले ७५ लाख रुपैयाँ पुरस्कार जितेको छ । लिगको उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख पुरस्कार पाउने छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्रलाई जित दिलाउन नुर्लान नोभ्रुजोभले निर्णायक गोल गरेका थिए । खेलको ५३औं मिनेटमा अजरबैजानका नुर्लानले पोस्ट् नजिकैबाट गोल गरेका थिए । नुर्लानसँगै मच्छिन्द्रका खेलाडीले च्यासलविरुद्धको खेलमा चोट बोकेका मिडफिल्डर मनिष डाँगीलाई सो गोल समर्पण गरेका थिए ।
मच्छिन्द्रले दोस्रो पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेको हो । यसअघि मच्छिन्द्रले २०७६ सालको लिग जितेको थियो ।
जितसँगै शीर्ष स्थानको मच्छिन्द्रले ११ खेलमा २९ अंक जोडेको छ । मच्छिन्द्र दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लबभन्दा नौ अंकले अघि छ । मनाङको १० खेलमा २० अंक छ । ११ खेलमा १५ अंक जोडेको सातदोबाटो छैटौं स्थानमा छ ।